काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) दोब्बरले बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि कात्तिकसम्म ३६ अर्ब ६८ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता स्वीकृत भएको हो। गत वर्ष यस्तै अवधिमा १८ अर्ब ६६ करोड रुपैयाँको मात्र लगानी प्रतिबद्धता आएको थियो।
साउन महिनामा मात्रै २४ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको विभागले जनाएको छ। भदौमा ८ अर्ब ९४ करोड, असोजमा २ अर्ब ४५ करोड र कात्तिकमा १ अर्ब ५४ करोड रुपैयाँको प्रतिबद्धता आएको छ।
अटोमेटिक र अप्रुभल रुट दुवैबाट चार महिनामा ३८२ परियोजना स्वीकृत गरिएका छन्। जसमध्ये २५१ अटोमेटिक रुट र १३१ उद्योग अप्रुभल रुटमार्फत स्वीकृत भएको छ। हालसम्म नेपालमा ६ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको विभागले जनाएको छ।
यस अवधिमा ७ हजार ६२१ नयाँ उद्योग दर्ता भएका छन्। यिनले ३३ हजार ८१४ जनालाई रोजगारी दिने अनुमान गरिएको छ। चार महिनामा ७७१ लगानीकर्ता, १२२ प्रतिनिधि र २२५ आश्रित परिवारका लागि व्यापारिक भिसा सिफारिस गरिएको छ।
उद्योग विभागको मासिक प्रतिवेदनअनुसार लगानीको सबैभन्दा ठूलो हिस्सा कृषि, वन तथा पर्यटन क्षेत्रमा केन्द्रित भएको छ। कृषि तथा वनमा कुल प्रतिबद्धताको ६० प्रतिशत, पर्यटनमा २४ प्रतिशत लगानी आएको छ। सेवा क्षेत्रमा ८ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ५ प्रतिशत, सूचना प्रविधिमा २ प्रतिशत र ऊर्जामा १ प्रतिशतको लगानी प्रतिबद्धता देखिएको छ।
कात्तिकसम्म दर्ता भएका ३८२ परियोजनामध्ये ३६९ साना स्केलका उद्योग रहेका छन्। मध्यम स्तरका ६ र ठूला स्तरका ७ परियोजना मात्र दर्ता भएका छन्। ठूला परियोजनाले समग्र लगानी रकमको ठूलो हिस्सा ओगटेको विभागको विश्लेषण छ।

























